+
Search

ताजा अपडेट +

पपुलर +

लाङ्टाङ लिरूङ सुनामी ८/२६ नामकरणको प्रस्ताव

लाङ्टाङ लिरूङ सुनामी ८/२६ नामकरणको प्रस्ताव
रामलाल श्रेष्ठ
२ घण्टा अगाडी

सन् २०२६ अगस्ट २६ अर्थात् विसं २०८३ भदौ १० गते नेपालका लागि अति नै पीडादायी दिनको रूपमा इतिहासमा लेखिने छ । रसुवा, नुवाकोट, धादिङ, चितवन र तनहुँका लागि त यो दिन इतिहासकै सबैभन्दा ठुलो महाविपत्तिको दिनको रूपमा सम्झना गरिनेछ । संसारलाई भदौ १० को दिनलाई महाविपत्तिको दिनको रूपमा सम्झाउन ‘८/२६ लाङ्टाङ लिरूङ सुनामी’ को नाम दिन सकिन्छ । संसारभर आफ्नो देशमा घटेका कहालीलाग्दो महाविपत्तिलाई सम्झन छोटकरी नाम दिने प्रचलन छ ।

Utsuk Books & Stationery

९/११ प्रहार : ९/११ भन्नासाथ सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको व्यापारिक भवन ट्विनटावरमा भएको आतङ्कारी महाविपत्तिको घटनाको सम्झना हुन्छ । अङ्ग्रेजी क्यालेन्डरको सेप्टेम्बर महिनालाई ९ र ११ तारिखको दिन घटेको घटना भएको हुँदा यो महाविपत्तिलाई ९/११ प्रहार (९/११ आक्रमण) भन्ने नामकरण गरिएको कारण संसारभरि ९/११ प्रहारको विपत्तिलाई अमेरिकाको आतङ्कारी घटना भनेर बुझ्ने र सम्झने गरिन्छ ।

२६/१२ सुनामी इन्डोनेसिया : सन् २००४ डिसेम्बर २६ मा इन्डोनेसियामा आएको समुद्री सुनामीलाई सम्झिन २६/१२ समुद्री सुनामीको सम्झना हुन्छ । यो सुनामी इतिहासकै सबैभन्दा ठुलो ९.३ रेक्टर स्केलको महाभूकम्पको कारण समुद्रमा उत्पन्न भएको समुद्री सुनामी हो । यो समुद्री सुनामीले समुद्री तटका १४ देशमा विध्वंस मच्चाई दुई लाख ३० हजार मानिसको मृत्यु भएको थियो । इन्डोनेसियामा एक लाख ६० हजार, थाइल्यान्डमा आठ हजार, श्रीलंकामा ३५ हजार र भारतमा १६ हजार मानिसको मृत्यु भएको थियो ।

२६/११ मुम्बई प्रहार : २६/११ मुम्बई प्रहारको नामबाट सम्झिने आतङ्कारी घटनाको रूपमा भारतको मुम्बईको हो । यो घटना सन् २००८ नोभेम्बर २६ तारिखमा घटेको हुनाले २६/११ भन्नासाथ मुम्बई आतङ्कारी घटनाको सम्झना गराउँछ । यो घटना मुम्बईको ताज होटेलमा १० जना बन्दुकधारी आतङ्कारीले ताज होटेललाई पूरै कब्जामा लिई एक सय ७५ व्यक्तिको ज्यान गएको र तीन सयजना घाइते भएको घटना नै मुम्बई प्रहारको घटना हो । भारतको प्रमुख पर्यटकीय गन्तव्यको शहर मुम्बई हो ।

जापानी सुनामी २०११ : सन् २०११ मार्च ११ मा जापानमा आएको समुद्री सुनामीलाई जापानी सुनामी–२०११ नाम दिइएको छ । यो सुनामी इन्डोनेसियाको सन् २००४ सुनामीभन्दा ठुलो स्केलको समुद्री सुनामी मानिन्छ । यो सुनामीले १५ हजारदेखि १८ हजार मानिसको ज्यान लिएको थियो । तर, यो सुनामीले तीन सय ६० बिलियमबराबर सम्पत्तिको क्षति भएको थियो । यो सुनामीपछि जापानले आफ्नो समुद्री किनारमा ५० मिटरभन्दा अग्लो समुद्री पर्खाल ग्रेटवाल निर्माण गरी भविष्यमा आउने सुनामीबाट सुरक्षित हुने पुनर्निर्माण अभियान थालेको थियो । जापानी सुनामी समुद्रमा ४० मिटरको उचाइसम्मको छाल आएको हुँदा त्योभन्दा अग्लो समुद्री पर्खाल लगाई जापानलाई सुनामीबाट सुरक्षित गर्ने अभियान सञ्चालन भएको देखिन्छ ।

केदारनाथ सुनामी २०१३ : सन् २०१३ जुन १६ मा भारतको प्रसिद्ध केदारनाथ तीर्थस्थलमा भयङ्कर ठुलो बाढी र केदारनाथमाथि रहेको चोरबाडी ताल फुटेर आएको महाविपत्तिलाई नै केदारनाथ सुनामी नाम दिइएको छ । यो महाविपत्तिमा १२ हजार मानिसको ज्यान गएको र हजारौँ बेपत्ता भएका थिए ।

महाभूकम्प २०१५ नेपाल : सन् २०१५ अप्रिल २५ अर्थात् २०७२ वैशाख १२ मा गएको भूकम्पलाई नेपालमा ७२ सालको भूकम्पको नामले सम्झिने गरिन्छ । यो भूकम्प ९० सालकै भूकम्पजस्तो ७.८ रेक्टर स्केलको भूकम्पले आठ हजारभन्दा धेरै मानिसको मृत्यु भएको थियो । यो भूकम्पले धेरै धनजनको क्षति भएको र पुनर्निर्माणको काम अझै पनि सकिएको छैन । विगत २५ वर्षभित्र संसारभरि माथि उल्लेखित महाविपत्तिका ठुला आकारका घटना हुन् । यीबाहेक पनि यो बिचमा संसारभर थुप्रै विपत्तिका घटना घटेको देखिन्छ । मानिसले अब विपत्ति र महाविपत्तिका घटनासँग पन्छिन र भाग्न सक्ने स्थिति छैन । भदौ १० गतेको रसुवा र नुवाकोटमा घटेको घटना सामान्य बाढीको घटना होइन । यो सामान्य भोटेकोशीको भेल मात्र थिएन । यति ठुलो महाविपत्तिलाई सामान्य बाढीको भेल मात्र देख्नु ठुलो मूर्खता हुनेछ । विगत एक महिनाभरि यति ठुलो सङ्ख्यामा ज्यान गएको र यति धेरै सम्पत्तिको नोक्सान भएको घटनालाई भोटेकोशी बाढीको नाम दिनु न्यायसङ्गत देखिँदैन । हामीलाई एकातिर यो घटनालाई देखाएर विश्वको ध्यान जलवायु न्यायतर्फ खिच्न आवश्यक छ भने यो घटनाले पुर्याएको क्षतिको क्षतिपूर्तिसहित पुनर्निर्माण गर्नुपर्ने बाध्यता छ । हामी अमेरिका वा जापानजस्तो सम्पन्न मुलुक पनि होइनौँ जसले यस्ता महाविपत्तिबाट भएको नोक्सानीको पुनर्निर्माण आफ्नै क्षमताले गर्न सक्छन् । तसर्थ रसुवा र नुवाकोट हुँदै बग्ने त्रिशूली नदीमा आएको सुनामीलाई भोटेकोशी बाढीको नामाकरण नगरी लाङ्टाङ हिमाली सुनामी ८/२६ राख्न उपयुक्त देखिन्छ । लाङ्टाङ सुनामी इन्डोनेसिया र जापानभन्दा ठुलो उचाइसहित झन्डै एक सय मिटरको उचाइमा आएको नदीको छालले जे–जति ज्यान र सम्पत्तिको विध्वंस भयो यो महाविपत्तिलाई ९/११, २६/११, इन्डोनेसिया, जापान र केदारनाथ सुनामीजस्तै विश्वको इतिहासमा घट्ने अति दुर्लभ महाविपत्तिको रूपमा सम्झन ‘लाङ्टाङ हिमाली सुनामी ८/२६’ नामबाट रसुवा र नुवाकोट महाविपत्तिलाई सम्झन उपयुक्त हुन्छ ।

हिमबाढीको नामकरण गरिँदै : सरकारले रसुवाको भोटेकोशीमा आएको विनाशकारी हिमबाढीको नामकरणका लागि अध्ययन अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीको नामकरण गर्न वैज्ञानिक समिति गठन गरेको जनाएको छ । ऊर्जा मन्त्रालयअन्तर्गत जल तथा ऊर्जा आयोगको सचिवालयले प्रारम्भिक रूपमा गरेको अध्ययनमा विभिन्न नाम छलफलमा आएका छन् । जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव टीका बरालका अनुसार छलफलमा ग्लेसियर रक एभलेन्च, आइस रक एभलेन्च/ल्यान्ड स्लाइड, रसुवा भोटेकोशी महाविपत्लगायत नाम आएका छन् । ‘यो विश्वमै दुर्लभ घटना हो । यसको विस्तृत अध्ययन नगरी निचोडमा पुग्न सकिँदैन । यो जलवायु विपत्को सबै वैज्ञानिक आधार र प्रमाण सङ्कलन गरिसकेपछि उपयुक्त नामकरण गरिने छ,’ बरालले भन्नुभयो । मन्त्रालयले वैज्ञानिक आधार र प्रमाण सङ्कलन गर्न गत बुधबार जलनीति तथा सुशासनविज्ञ देवेश बेल्वासेको संयोजकत्वमा गठित सात सदस्यीय समितिमा जलविद् डा.नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा. उत्तमबाबु श्रेष्ठ, भूगर्भविद् डा.मेघराज धिताल, जलविद्युत् पूर्वाधारविज्ञ डा.हरि पण्डित, विपत् जोखिम न्यूनीकरणविज्ञ अनिल पोखरेल सदस्य रहनुभएको छ । (लेखक राजनीतिक विश्लेषक एवम् चिन्तक हुनुहुन्छ ।)

 

प्रतिक्रिया

लेखकको बारेमा

रामलाल श्रेष्ठ