भोटेकोशी बाढी प्रभावित नुवाकोटमा राजनीतिक दलका कार्जेक्रममा भन्दा राहत बाँड्ने लाममा पो मतदाताको भिड देखिन्छ त । बाढीबाट सर्वस्व गुमाएका विदुरे मतदातालाई वडाध्यक्ष तथा पालिकाका प्रमुख-उपप्रमुखको रुखो व्यवहारले चाइन्जो आगामी मिसन ८४ मा पुराना दलका उम्मेदवारको मतपेटिका रित्तो हुने हो कि भन्ने चिन्ता तीनआँखेलाई लागिरा’छ । जनप्रतिनिधिको व्यवहारले आजित बनेका, बल्लबल्ल बाँचेकालाई राहतमा विभेद गरिएपछि चिया पसलतिर चाइन्जो गफिनेको सङ्ख्या नबढ्ने कुरै भएन । बाढीले बेरोजगार बनेका आधा विदुरेले कुखुरो कराएदेखि स्याल नकराउन्जेल जनप्रतिनिधिकै कुरा नकाटी पानीसम्म नखाएको देख्दा नि चाइन्जो उदेकै लाग्छ । सरकारको वागडोर सम्हालेको घन्टी पार्टी भने प्रभावित क्षेत्रमा सबै काम भइसक्यो भन्दै टिकटक र फेसबुकमा एआईले बनाएको पुलको लर्को देखाउँदै मतदातालाई रिजर्भ गर्न पो चाइन्जो व्यस्त देखिन्छ त ।







प्रतिक्रिया