+
Search

ताजा अपडेट +

पपुलर +

बाढीपछि खानेपानी वितरण असहज

बाढीपछि खानेपानी वितरण असहज
त्रिशूली प्रवाह
५६ मिनेट अगाडी

विदुर । गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विध्वंसकारी हिमबाढीबाट विदुर नगरपालिकामा वितरण भइरहेको खानेपानी सञ्चालन असहज भएको छ । विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था लि.ले तादी खोला किनारमा रहेको वैकल्पिक स्रोत सम्पवेल सञ्चालन गर्न सुरुका दिनमा विद्युत् पावर कम आएका कारण समस्या भएको संस्थाले जानकारी दिएको छ ।

Utsuk Books & Stationery

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयको सहयोगमा तीनवटा स्टेपलाइजर जडान भएपछि तादी खोलाको किनारमा रहेको सम्पवेलबाट एक लाइन पाइपमा पानी तान्न सहज भएर प्रतिसेकेन्ड २० लिटर पानी बट्टार ट्याङ्कीमा जम्मा हुन थालेपछि आलोपालो गरी नगर क्षेत्रमा पानी वितरण सुरु गरिएको थियो । वल्र्ड भिजनको सहयोगमा थप दुईवटा स्टेपलाइजर जडान भएपछि सम्पवेलबाट पानी तानेर अर्को पाइपबाट पनि पानी बट्टार ट्याङ्कीमा ल्याएपछि वितरणमा सहज हुँदै गएको संस्थाका अध्यक्ष सञ्जीवबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यका खानेपानी आयोजना (केयू) र खानेपानी विभाग, नेपाल रेडक्रस, प्लान इन्टरनेसनल, वल्र्ड भिजन, सेभ द चिल्ड्रेन, अल ह्यान्स, कारितास, कार्डसन, साना सहरी खानेपानी उपभोक्ता महासङ्घलगायत संस्थाको सहयोगमा आलोपालो पानी वितरणका लागि आवश्यक पाइप, बिजुलीको तार, पम्प, पानी जम्मा गर्ने ड्रम सहयोग भएपछि टोल र बस्तीमा धारा सञ्चालनमा सहज भइरहेको छ । टोलटोलमा राखिएको पानी ट्याङ्कीमा केयूको दुईवटा पानी ट्याङ्कर र विदुर नगरपालिकाको दुईवटा बारुण यन्त्रबाट दैनिक पानी भर्ने काम भइरहेको छ । बुद्धिष्ट टिजेडयू छी च्यारिटी फाउन्डेसन संस्थाले विदुर खानेपानीको कार्यक्षेत्रमा २० वटा बोरिङ निर्माण गरी समुदायलाई नै हस्तान्तरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्तावअनुसार समुदायको सल्लाहमा सार्वजनिक स्थलमा बोरिङ खन्ने स्थान प्रस्ताव गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । बाढीले विदुर–१० वेत्रावतीदेखि वडा नं. १ सिमुटारसम्मको साढे सात किलोमिटर मुख्य डिआई पाइपलाइन ध्वस्त भएको छ । वैकल्पिक स्रोतको लागि तयार गरेको त्रिशूली नदीको किनारमा रहेको तीनवटा बोरिङ र वडा नं. १ ढुङ्गेदेखि त्रिशूलीमा रहेको डेढ किलोमिटर वितरण लाइनको डिआई पाइप लाइन ध्वस्त भएपछि पानी वितरणमा समस्या आएको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह