नुवाकोट । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विदुर नगरपालिका कार्यसमितिको सभापति पदमा ताराबहादुर कार्कीले उम्मेदवारी घोषणा गर्नुभएको छ । सफल व्यवसायी एवं समाजसेवी नेपाली काङ्ग्रेसमा विगत ३५ वर्षदेखि विभिन्न पदमा रही काङ्ग्रेसको सङ्गठन विस्तारमा क्रियाशील कार्कीको उम्मेदवारीले विदुरका काङ्ग्रेसजनमा उत्साह थपिएको छ ।

आइतबार सम्पन्न गर्नुपर्ने नुवाकोटको पालिका अधिवेशन मौसमको कारणले स्थगित भएको छ । उहाँले नेपाली काङ्ग्रेसका अग्रज नेता, क्रियाशिल सदस्य, क्षेत्रिय प्रतिनिधि तथा सम्पूर्ण काङ्ग्रेसजनमा सहयोगका लागि अपिल गर्नुभएको छ । राजनीती केवल पद प्राप्त गर्ने माध्यम होइन, यो जनताको विश्वास बोक्ने जिम्मेवारी हो । नेतृत्व केवल कुर्सीमा बस्ने मात्र होईन, अप्ठ्यारोमा कार्यकर्ताको हात समाउने साहस हो । यही विश्वास, जिम्मेवारी र भावनालाई हृदयमा राख्दै उहाँले उम्मेदवारी घोषणा गर्नुभएको छ । विसं २०४९ मा नेपाली काङ्ग्रेसको क्रियाशिल सदस्यता प्राप्त गरी तत्कालिन २०६४ मा नेपाली काङ्ग्रेस भद्रुटार गाविसको इकाई सभापतिको जिम्मेवारी बहन गर्दा पार्टीको अनुभव प्राप्त गरेको आधारमा उहाँले नगर सभापति दावी गर्नुभएको बताउनुभएको छ । काङ्ग्रेसको १५औँ महाधिवेशनको क्रममा नेपाली काङ्ग्रेस विदुर नगर कार्यसमितिको सभापति पदमा उम्मेदवारी घोषणा गरेपश्चात् कार्कीले नेता÷कार्यकर्ता, क्रियाशिल सदस्य, क्षेत्रिय प्रतिनिधिसँग भेटघाट बाक्लो बनाउँदै काङ्ग्रेस कार्यकर्ताको शिर उँचो बनाउने प्रतिबद्धता जनाउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नुवाकोटको प्रतिनिधिसभाको दुवै क्षेत्र जितेपछि काङ्ग्रेसका कार्यकर्तामा बढेको निरासालाई हटाएर आगामी स्थानीय निर्वाचनमा विदुरको प्रमुख–उपप्रमुखसहित १३ वटै वडामा जित हासिल गर्ने योजना समेत सार्वजनिक गर्नुभएको छ । आगामी चुनावमा विदुर काङ्ग्रेसमय बनाउन तन, मन र धन लगाउने प्रण समेत गर्नुभएको उहाँलाई उम्मेदवार बनाउने समूहले जानकारी दिएको छ । नुवाकोट उद्योग वाणिज्य सङ्घमा विसं २०६१ मा सल्लाहकार भएर प्रवेश गरी अध्यक्षहुँदै हाल उहाँ नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यसमितिको दोस्रो कार्यकालमा रहनुभएको छ ।






प्रतिक्रिया