विदुर । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको हिमबाढीले बागमती प्रदेश सरकारको लगानीमा रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँमा निर्माण भएका भौतिक पूर्वाधारमा ठुलो क्षति पु¥याएको छ । बाढीबाट प्रदेश सरकारले लगानी गरेको पाँच जिल्लामा सडक, सडक पुल, झोलुङ्गे पुल तथा सरकारी भवनमा गरी करिब रू.६ अर्बबराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।


प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनमा निर्माण भएका प्रादेशिक लोकमार्गलगायतका पूर्वाधारमा अकल्पनीय क्षति पुगेको छ । तीमध्ये नुवाकोटमा सबैभन्दा बढी क्षति भएको मन्त्रालयका सूचना अधिकारी इन्जिनियर वासुदेव दाहालले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार नुवाकोटमा ३.५ किलोमिटर सडक, सडक पुल झोलुङ्गे पुल तथा प्रादेशिक कार्यालयका भवनमा क्षति पुगेको छ । बाढीबाट ३.५ किलोमिटर सडकमा क्षति हुँदा करिब रू.१६ करोडबराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । सडक पुलतर्फ रसुवामा आठ, नुवाकोटमा १६ र धादिङमा ६ वटा गरी ३० वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । नुवाकोटमा थप एउटा सडक पुलमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ । तीन जिल्लाका सडक पुलमा मात्रै रू.चार अर्ब ७६ करोड ५० लाखबराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । मन्त्रालयका अनुसार सडक पुलमा नुवाकोटमा रू.दुई अर्ब पाँच करोड ४० लाख, धादिङमा रू.दुई अर्ब सात करोड ५० लाख र रसुवामा रू.६ करोड ३६ लाखबराबरको क्षति पुगेको छ । झोलुङ्गे पुलतर्फ रसुवामा आठवटा पूर्ण क्षति भएका छन् । नुवाकोटमा ११ वटा पूर्ण र आठवटा आंशिक, धादिङमा १५ वटा पूर्ण, पाँचवटा आंशिक र तीनवटा सामान्य क्षति भएका छन् । चितवनमा त्रिशूली नदीमा आएको बाढीले एउटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । झोलुङ्गे पुलमा रसुवामा रू.सात करोड १० लाख, नुवाकोटमा रू.२८ करोड ४० लाख, धादिङमा रू.३० करोड ३७ लाख ३६ हजार र चितवनमा रू.दुई करोड २५ लाख गरी कुल रू.६८ करोड १२ लाख ३६ हजारबराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

सरकारी भवनतर्फ नुवाकोटमा त्रिशूली नदीको बाढीले प्रादेशिक कार्यालयका १० वटा भवन पूर्ण रूपमा र चार भवन आंशिक रूपमा क्षति भएका छन् । भवनमा मात्रै करिब रू.३३ करोडबराबरको क्षति भएको मन्त्रालयका सूचना अधिकारी दाहालले बताउनुभयो । बाढीबाट क्षतिग्रस्त संरचनाको प्रारम्भिक विवरण सङ्कलन गरी क्षतिको मूल्याङ्कन भइरहेको मन्त्रालयले जनाएको छ । बाढीका कारण प्रदेश सरकारको लगानीमा निर्माण भएका सडक तथा पुललगायतका महत्त्वपूर्ण पूर्वाधारमा ठुलो क्षति पुगेपछि पुनर्निर्माणमा थप स्रोत आवश्यक पर्ने देखिएको छ ।






प्रतिक्रिया