+
Search

ताजा अपडेट +

पपुलर +

वेत्रावती-रसुवागढीको भूगोल नै बदलियो

वेत्रावती-रसुवागढीको भूगोल नै बदलियो
ज्ञानेन्द्र न्यौपाने
१ घण्टा अगाडी

वेत्रावती । दुई सय वर्षभन्दा अघि युद्धको अन्त्यसँगै शान्तिको सन्देश दिएको रसुवा-नुवाकोटको सिमाना वेत्रावती क्षेत्र गत भदौ १० गतेको भोटेकोशी-त्रिशूली हिमबाढीले बगरमा परिणत गरिदिएको छ । चीनको तिब्बततर्फबाट आएको विनाशकारी लेदोयुक्त बाढी भोटेकोशी हुँदै रसुवागढी प्रवेश गरेपछि टिमुरे–वेत्रावती–त्रिशूली–देवीघाट–गल्छीलगायत नदीतटीय क्षेत्रका भू–भागमा अकल्पनीय जनधनको क्षति भएको छ ।

Utsuk Books & Stationery

बाढीपछिको खोज तथा उद्धारका क्रममा रसुवा जिल्लामा मात्रै दुई सय ३६ शव प्रहरीले सङ्कलन गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले बाढीपछि शव सङ्कलन, बेपत्ता व्यक्ति, उद्धार, उपचार तथा राहत वितरणका विवरण दैनिक सार्वजनिक गरिरहेको छ । बाढीले मानिसको ज्यान मात्र लिएन सयौँ परिवारको घरबार नै विनाश गरेको छ । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने सडक, मोटरेबल तथा झोलुङ्गे पुल, जलविद्युत् आयोजना, विद्युत् तथा सञ्चार संरचना, होटेल तथा व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था र नदीकिनारका बस्तीमा ठुलो क्षति पु¥याएको छ । एकैपटक आएको असाधारण बाढीले सदियौँदेखि मानिसको आवतजावत, व्यापार र इतिहास बोकेको भोटेकोशी–त्रिशूली करिडोरको भूगोल अहिले फेरिएको छ ।

युद्धको अन्त्य भएको स्थानमा विपत्तिको नयाँ इतिहास
वेत्रावती नेपालको इतिहासमा सामान्य स्थान होइन । नेपाल–तिब्बत युद्धको अन्तिम चरणमा सन् १७९२ मा यही क्षेत्र शान्ति सम्झौताको साक्षी बनेको थियो । त्यसवेला नेपालमा राजा रणबहादुर शाहको शासन थियो भने राज्य सञ्चालनमा उहाँका काका बहादुर शाहको महत्त्वपूर्ण भूमिका थियो । तिब्बतमा आठौँ दलाई लामा जाम्पेल ग्याछोको धार्मिक नेतृत्व थियो र चीनमा छिङ वंशका छियानलोङ सम्राटको शासन थियो । तिब्बतलाई सहयोग गर्न चिनियाँ सेना नेपालसम्म आएपछि युद्धको अन्तिम चरण वेत्रावतीआसपासमा पुगेको इतिहासमा उल्लेख छ । त्यस समय युद्ध रोकिएको वेत्रावतीले दुई शताब्दीपछि अर्को ठुलो घटना भोगिरहेको छ । यसपटक मानवनिर्मित युद्ध होइन, प्रकृतिको उग्र बहाबसँग समाप्त भएको अस्तित्वमा रहेको छ ।

सात–आठ मिनेटमै रसुवागढीमा बाढीको छाल
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको प्राविधिक अध्ययनअनुसार बाढीको मुख्य कारण सामान्य मनसुनी वर्षा मात्र थिएन । चीनको तिब्बततर्फ करिब पाँच हजार दुई सय मिटर उचाइको क्षेत्रमा हिमचट्टान पहिरो गएपछि ठुलो परिमाणमा पानी, बरफ, चट्टान र लेदो मिसिएको बहाब बनेको अध्ययनले देखाएको छ । तर, चिनियाँ राजदूतावासले भने हिमपहिरो चीनको भू-भागबाट नभई नेपालतर्फकै बाढी हो भनी दाबी गरेको छ । उद्गम क्षेत्रदेखि नेपाल–चीन सीमाको रसुवागढीसम्मको करिब २२ किलोमिटर दूरी बाढीको छालले सातदेखि आठ मिनेटमै पार गरेको अध्ययनमा उल्लेख छ । त्यस क्रममा बाढीको प्रारम्भिक गति करिब एक सय ८८ किलोमिटर प्रतिघण्टा पुगेको अनुमान छ । रसुवागढीबाट तलतिर नदीको प्रभाव घट्दै जाँदा बाढीको गति क्रमशः कम भए पनि त्यसले बोकेको लेदो, ढुङ्गा, काठ र भौतिक संरचनाको अवशेषले विनाशको मात्रा बढाउँदै लग्दा तल्लो क्षेत्रमा जनधनको ठुलो क्षति भयो । बाढीको वास्तविक गति बुझ्न पानीको बहाब महत्त्वपूर्ण हुन्छ, तर रसुवागढी, स्याफ्रुबेँसी, वेत्रावती र मलेखुका स्वचालित जलमापन केन्द्र नै बाढीले बगाएपछि रसुवागढीमै अधिकतम बहाब कति घनमिटर प्रतिसेकेन्ड थियो भन्ने यकिन मापन उपलब्ध छैन । तर, यही बाढी देवघाट पुगेपछि त्यहाँको अधिकतम बहाब करिब पाँच हजार आठ सय ५० घनमिटर प्रतिसेकेन्ड मापन गरिएको थियो । देवघाटमा बाढीको समयमा करिब एक करोड ९९ लाख ६५ हजार घनमिटर अर्थात् झन्डै दुई करोड घनमिटर अतिरिक्त पानी बगेको प्रारम्भिक प्राविधिक अनुमान छ । यसैले रसुवागढीमा ‘पाँच हजार आठ सय ५० घनमिटर प्रतिसेकेन्ड पानी बगेको’ देवघाटमा मापन गरिएको अधिकतम बहाब हो ।

रसुवागढीदेखि वेत्रावतीसम्म तहसनहस
बाढीले नेपाल–चीन सीमाबाट तलतिरको सडक संरचनामा पूरै क्षति पुर्यायो । प्रारम्भिक विवरणअनुसार वेत्रावतीदेखि रसुवागढीसम्म करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको सडक विभागले जनाएको छ । गल्छी–वेत्रावती–रसुवा करिब ८२ किलोमिटर सडकखण्डमा गम्भीर क्षति पुगेको विवरण सार्वजनिक भएको थियो । रसुवागढीदेखि गल्छीभन्दा तलसम्मका विभिन्न क्षेत्रमा २२ वटा पक्की पुल र पाँचवटा बेलिब्रिज बाढीले बगाएको प्रारम्भिक विवरण आएको थियो । सडक र पुल बग्दा उद्धार तथा राहत सामग्री प्रभावित बस्तीमा पु¥याउनसमेत कठिनाइ भयो । अधिकांश स्थानमा हेलिकोप्टरमार्फत आवतजावत र खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था आयो । पैदलमार्ग बाढीले बगाई आवत–जावत ठप्प भएका कारण स्थानीय प्रशासनले सबै कार्य हेलिकोप्टरबाट गराई सरकारको उपस्थिति जनायो । अहोरात्र बाढी प्रभावितको सेवामा तल्लीन प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे र सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीको समन्वयले खोज तथा उद्धार र राहत वितरणमा सहज भएको थियो । भौगोलिक कठिनताका बिचमा पनि बाढी प्रभावित क्षेत्रमा दिनरात नभनी खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका अधिकृत तथा जवान र निजामती तथा स्थानीय तहका कर्मचारीको सेवाभावको रसुवावासीले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

व्यापारिक नाका र जलविद्युत् प्रभावित
रसुवागढी नेपाल–चीन स्थल–व्यापारको महत्त्वपूर्ण नाका हो । बाढीले नाकाको सडक तथा आसपासका पूर्वाधारमा क्षति पु¥याउँदा आयात–निर्यात तथा आवत–जावत पूरै प्रभावित भएको छ । भन्सार क्षेत्र, गोदाम, सडक, पुल, सञ्चार र विद्युत् संरचनामा परेको क्षतिले बाढी प्राकृतिक विपत्ति मात्र नभई सीमापार व्यापार र स्थानीय थातथलो पूरै ध्वस्त छ । भोटेकोशी बाढीले जलविद्युत् क्षेत्रमा पनि ठुलो क्षति पुर्याएको छ । प्रारम्भिक विवरणअनुसार चार सय ३१ दशमलव एक मेगावाट क्षमताका १२ जलविद्युत् आयोजना बन्द छन् । ती आयोजनामा के-कति उपकरण क्षति भयो अहिलेसम्म जलस्रोत प्राविधिक स्थलगत रूपमा जान सकेका छैन । भूमिगत गृहको उत्पादन केन्द्र जाने खोलो तर्नका लागि हेलिकोप्टरको सहारा लिएको अवस्था छ । यस क्षेत्रमा निर्माण भइसकेका र निर्माणाधीन दर्जनौँ आयोजना, प्रसारणलाइन तथा आयोजनामा कार्यरत कर्मचारीसमेत बगेका छन् । रसुवाको भौगोलिक अवस्था र नदीकिनारमा निर्माण भएका जलविद्युत् संरचनाका कारण बाढीले आयोजना क्षेत्र उच्च जोखिममा पा¥यो । अबका दिनमा निर्माण हुने र क्षतिग्रस्त जलविद्युत् सञ्चालन गराउन डिजाइन फेरेर विद्युत्गृह अग्लो स्थानमा नपु¥याई उपाय नहुने पाठ बाढीले सिकाएको छ । बाढीले सडक र पुलसँगै सञ्चार संरचनामा समेत क्षति पु¥यायो । प्रारम्भिक विवरणअनुसार नेपाल टेलिकमका ३५ बिटिएस साइट प्रभावित भएका थिए । रसुवामा रहेका १९ मध्ये आठ साइट, नुवाकोटका ४७ मध्ये १५ टावर तथा धादिङका केही साइटको सेवा अवरुद्ध भएको थियो । एनसेलका २७ टावरसमेत बन्द भएका थिए । सडक र सञ्चार दुवै अवरुद्ध हुँदा बाढीपछि बेपत्ता भएका व्यक्तिको खोजी, आफन्तसँग सम्पर्क तथा राहत वितरणमा थप कठिनाइ भयो ।

दुई सय ३६ शव सङ्कलन
बाढीपछिको सबैभन्दा पीडादायी अध्याय मानवीय क्षति हो । नदीले बस्ती, सडक र संरचनासँगै मानिसलाई समेत बगाएपछि लामो समयसम्म खोजी तथा उद्धार जारी रह्यो । रसुवा प्रहरीले बाढीपछि रसुवा जिल्लाभित्र दुई सय ३६ शव सङ्कलन गरेको जनाएको छ । यो सङ्ख्या बाढीमा बगेका वा बेपत्ता भएका मानिसको कुल सङ्ख्या नभई खोजी तथा उद्धारका क्रममा जिल्लामा शव फेला परेको सङ्ख्या भएको रसुवा प्रहरी प्रमुख अशोक थापाले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय रसुवाले आफ्नो आधिकारिक वेबसाइटमा शव सङ्कलन विवरणसँगै सम्पर्कमा नआएका व्यक्ति, बेपत्ता व्यक्ति र उद्धार गरिएका व्यक्तिको छुट्टाछुट्टै विवरण राखेको छ । यसले बाढीको मानवीय क्षतिको वास्तविक तस्बिर अझै पूर्ण रूपमा सार्वजनिक भइसकेको छैन । शव पहिचान, बेपत्ता व्यक्तिको अवस्था यकिन र परिवारसँग पुनर्मिलनको काम अझै बाँकी छ ।

खोज तथा उद्धार र राहत वितरणमा हेलिकोप्टर प्रयोग
बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित सरकारी निकाय उद्धारमा परिचालन भए । सरकारले स्थल तथा हवाई माध्यमबाट हजारौँ प्रभावितको उद्धार गरेको जनाएको छ । बाढीको प्रारम्भिक चरणमै प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकोप्टर परिचालन गरियो । कठिन भौगोलिक अवस्था र सडक तथा पुलको क्षतिका कारण कतिपय बस्तीमा स्थलमार्गबाट पुग्न नसकेपछि हवाई उद्धारको सहारा लिनुप¥यो । सरकारले प्रारम्भिक चरणमै सात हजार पाँच सय १४ जनाको उद्धार गरेको जानकारी दिएको छ । दुर्गम तथा सडक सम्पर्कविच्छेद भएका बस्तीमा राहत पु¥याउन हेलिकोप्टर प्रयोग गरिएको थियो । राहतमा खाद्यान्न, खानेपानी, लत्ताकपडा, कम्बल, पाल, म्याट्रेस, सोलार बत्ती, टर्च, सरसफाइ सामग्री, स्वास्थ्य सामग्री तथा अन्य दैनिक उपभोग्य सामग्री पठाइएको प्रशासनले जानकारी दिएको छ । विभिन्न सङ्घसंस्था, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र तथा दातृ निकायबाट प्राप्त राहत सामग्रीलाई अभिलेखबद्ध गर्दै क्रमशः अद्यावधिक गरिएको छ । राहत ड्रोनबाट समेत पठाइएको अभिलेखकर्ता अशोक चौधरीले बताउनुभयो । सरकारले बाढी प्रभावितका लागि बसोबास तथा जीविकोपार्जन अनुदान वितरण प्रक्रियासमेत थालेको छ ।

चीनतर्फ पनि ठुलो क्षति
भोटेकोशी बाढीको प्रभाव नेपालमा मात्र सीमित रहेन । बाढीको उद्गम क्षेत्र रहेको चीनको तिब्बतस्थित जिलुङ क्षेत्रसमेत प्रभावित भएको छ । नेपाल–चीन सीमाको दुवैतर्फ एउटै नदी प्रणालीमा आएको असाधारण बाढीले सीमावर्ती भूगोलमा मानवीय तथा भौतिक क्षति पु¥याएको जानकारी चिनियाँ पक्षले दिएको छ । यस घटनाले हिमाली क्षेत्रमा विपत्को जोखिम देशको सीमाभन्दा माथि हुने देखाएको छ । एउटा देशको माथिल्लो भेगमा भएको हिमपहिरो वा नदी थुनिने घटनाको असर केही मिनेटमै अर्को देशको तल्लो तटीय बस्तीमा पुग्न सक्ने अवस्था यसपटक प्रत्यक्ष देखियो ।

वेत्रावतीवासीको थातथलोमै सुरक्षित पुनर्वास गर्ने इच्छा
सन् १७९२ मा वेत्रावती युद्ध रोकिएको सम्झौताको साक्षी बनेको क्षेत्र हो । दुई सय वर्षभन्दा बढी समयपछि त्यही भूगोलले अर्को ऐतिहासिक दैवी विपत्तिको घटना भोगेको छ । यसपटक वेत्रावतीले युद्धको अन्त्य होइन, प्राकृतिक विपत्तिको चपेटामा परेर अस्तित्व मेटायो । भोटेकोशीको एकै छालले सडक, पुल, बजार, जलविद्युत् आयोजना, सञ्चार संरचना र घरबस्तीमा पुर्याएको क्षतिको पुनर्निर्माण एक शताब्दीमा पनि बन्न सक्दैन । बाढीपीडितको चाहना छ – थातथलो क्षेत्रकै सुरक्षित ठाउँमा पुनर्वास गराइयोस् ।

विशेषगरी रसुवागढीदेखि वेत्रावतीसम्मको करिडोरलाई केवल सडक निर्माणको योजनाका रूपमा नभई बहुप्रकोपीय जोखिमयुक्त अन्तर्राष्ट्रिय करिडोरका रूपमा हेर्नुपर्ने अवस्था आएको छ । पूर्वसूचना प्रणाली, सीमापार सूचना आदान–प्रदान, नदीको निरन्तर अनुगमन, सुरक्षित बस्ती विकास, नदीकिनारको जोखिम नक्साङ्कन, आपत्कालीन उद्धार मार्ग र वैकल्पिक सडक निर्माणलाई एकीकृत योजनामा जोड्नुपर्ने आवश्यकता बाढीले देखाएको छ । वेत्रावतीले इतिहासमा शान्तिको सम्झौता बोकेको थियो । अहिले त्यही वेत्रावतीदेखि रसुवागढीसम्मको भूगोलले विनाशको एउटा नयाँ इतिहास बोकेको छ । दुई सय ३६ शव, बगेका पुल, ध्वस्त सडक, बन्द भएका जलविद्युत् आयोजना र विस्थापित परिवारको पीडा अब केवल बाढीको तथ्याङ्क होइन – यो भूगोललाई सुरक्षित बनाउने आगामी पुस्ताको चुनौती पनि देखिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र न्यौपाने