+
Search

ताजा अपडेट +

पपुलर +

उत्तरगया आयल ट्रेडर्स धनजनको क्षति व्यहोर्दै निरन्तर सेवामा

उत्तरगया आयल ट्रेडर्स धनजनको क्षति व्यहोर्दै निरन्तर सेवामा
त्रिशूली प्रवाह
९ मिनेट अगाडी

वेत्रावती । नुवाकोट जिल्ला, विदुर-१०, वेत्रावतीस्थित उत्तरगया आयल ट्रेडर्स गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विध्वंसकारी हिमबाढीबाट अकल्पनीय जनधनको क्षति व्यहोरे पनि निरन्तर सेवामा लागिरहेको छ । ट्रेडर्सका सञ्चालक तथा कर्मचारी गरी चारजना सदस्य अझै बेपत्ता रहेको सञ्चालक उद्धव रिजालले जानकारी दिनुभयो ।

Utsuk Books & Stationery

पम्पका सञ्चालक उद्धव रिजाल, सीताराम पौडेल, शंकर न्यौपाने र बलराम ढकालको समूहले वेत्रावती र रसुवाको कालिकास्थानमा ‘गन्तव्य पेट्रोल पम्प’ सञ्चालन गरेको थियो । सो दिनको बाढीले पम्पमा काम गर्ने रामेश्वर न्यौपाने, पम्पपरिसरमा किराना पसल र सामान्य होटेल सञ्चालन गरिरहेका दुईजना र टायर पसल सञ्चालन गरिरहेका एकजना मिस्त्री बेपत्ता छन् । पेट्रोल पम्पमा नियमित तेल राख्ने गरेका तीन दर्जनभन्दा बढी सवारीसाधन र कम्पनीसँग गरी करिब रु.तीन करोड उधारो रकम उठ्न बाँकी रहे पनि सञ्चालकले रसुवा जिल्लाभर इन्धनको अभाव हुन दिएका छैनन् । बाढीले ट्रेडर्सको नौ रोपनी करिब रु.नौ करोड मूल्य पर्ने जग्गा र रु.तीन करोडबराबरको भौतिक सम्पत्ति कामै नलाग्ने गरी बगाएर लगेको छ । नगद र आइसिएफसी फाइनान्सबाट कम्पनी धितो राखी लिएको रु.६ करोड ऋण गरी करिब रु.१८ करोडबराबरको प्रत्यक्ष तथा अप्रत्यक्ष क्षति पुगेको सञ्चालक उद्धव रिजालले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो ।

‘काम कहाँ र कसरी अगाडि बढाउने भन्ने अन्योबिच अहिले व्यवसाय दोधारको अवस्थामा छ,’ सञ्चालक रिजालले भन्नुभयो । पारिवारिक र वित्तीय सङ्कटका बाबजुद सञ्चालक पम्प अन्य सुरक्षित स्थानमा राख्ने तयारीमा जुटिरहेका छन् । भौगोलिक विकटता र असहज परिस्थितिबिच ड्रममा समेत तेल ढुवानी गरेर गन्तव्य पेट्रोल पम्पले रसुवामा इन्धन आपूर्ति सहज बनाइरहेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । ढुवानी गर्ने क्रममा हालै इन्धन बोकेको एउटा ट्रयाक्टर दुर्घटनामा पर्दा करिब रु.चार लाखबराबरको तेल खोलामा बगेर थप आर्थिक क्षति यो समूहलाई भएको छ । पटक-पटक परेको बज्रपात, करोडौँको क्षति र सवारी दुर्घटनाजस्ता लगातारका चुनौतीका बाबजुद पनि सञ्चालकले उच्च मनोबलका साथ सेवा जारी राखेका छन् । यस्तो अप्ठ्यारो परिस्थितिमा पनि रसुवामा निरन्तर इन्धन आपूर्ति गरी नागरिकको सेवामा समर्पित रहेकोमा स्थानीयवासीले उच्च प्रशंसा गरेका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह