धुन्चे । गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी हिमबाढीमा परी रसुवाका आठजना जनप्रतिनिधि सम्पर्कविहीन भएका छन् । बाढी आएको एक महिना बितिसकेको छ । खोजीकार्य जारी रहे पनि हराइरहेका जनप्रतिनिधिको लास र सास भेट्ने आसमा परिवारजन रहेका छन् । गोसार्इँकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङ, वडा नं. २ का अध्यक्ष कामीछिरिङ तामाङ, वडा नं ५ का अध्यक्ष दावा मिङमार तामाङ, कार्यपालिका सदस्य कामीसेदार घले, सोनामछिरिङ घले, ज्ञानु विक, कार्मु तामाङनी र लक्ष्मी परियार बाढीमा हराइरहेका छन् ।

स्थानीय तह निर्वाचन २०७९ मा गोसाईँकुण्ड गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित तामाङले दुई हजार पाँच सय ४५ मत प्राप्त गर्नुभएको थियो । सोही निर्वाचनमा वडा नं. २ का अध्यक्ष कामीछिरिङ एक सय ९७ मत र वडा नं ५ का अध्यक्ष दावा मिङमार सात सय ७९ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो । वडा नं २ का सदस्य कामीसेदारले एक सय ९९ मत र सोनामछिरिङले एक सय ९७ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी, उत्तरगया गाउँपालिकाका कार्यपालिका सदस्य ज्ञानु विक पनि बाढीपछि सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ । उत्तरगयाका अध्यक्ष माधव अर्यालले कार्यपालिका सदस्य ज्ञानु विकसहित केही शिक्षक सम्पर्कविहीन रहेको बताउनुभएको छ ।
उत्तरगया-४ का वडाध्यक्ष अमरबहादुर बुलुनले कार्यपालिका सदस्य ज्ञानु विक बाढीपछि सम्पर्कमा नआएको जानकारी दिनुभयो । बाढीले उत्तरगयामा अकल्पनीय मानवीय तथा भौतिक क्षति भएको छ । बाढीपछि लामो समयसम्म सञ्चार तथा सडक सम्पर्क विच्छेद हुँदा बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको यकिन विवरण सङ्कलन गर्न कठिनाइ भएको गाउँपालिकाले जनाएको छ । बाढीको एक महिनापछि पनि गोसार्इँकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङ, वडा नं. २ का अध्यक्ष कामीछिरिङ तामाङ र वडा नं ५ का अध्यक्ष दावामिङमार तामाङको अवस्था अज्ञात रहेको पछिल्लो सार्वजनिक विवरणमा उल्लेख छ । उहाँहरूको खोजी जारी रहे पनि अवस्थाबारे जानकारी प्राप्त हुन नसकेको प्रहरीले बताएको छ ।






प्रतिक्रिया