विदुर । रसुवा–नुवाकोटको सिमाना वेत्रावतीमा नेपाली सेनाको अगुवाइमा निर्माणाधीन बेलिब्रिज र नुवाकोट निर्माण व्यवसायी महासङ्घको आर्थिक सहयोगमा त्रिशूलीबजारमा जडान भइरहेको झोलुङ्गे पुल बडादसैँअगाडि नै सञ्चालनमा आउने भएको छ । रसुवा–नुवाकोटको त्रिशूली नदीतटीय क्षेत्रका सबै पुल बाढीले बगाएपछि नागरिकलाई त्रिशूली नदी वारपार गर्न जटिल भइरहेको छ । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विध्वंसकारी हिमबाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लाका ३७ पुल बगाएको थियो ।


नुवाकोटको देवीघाट क्षेत्रमा एक्रो पुल गत भदौ २० गते निर्माण सम्पन्न भएर गल्छी–त्रिशूली यातायात सञ्चालन भइसकेको छ । सन्ताउन्न मिटर लामो एक्रो ब्रिज गल्छी–त्रिशूली खण्डको तादी खोलामा नेपाली सेनाका अगुवाइमा निर्माण गरिएको थियो । सेनाले डेढ सय मिटरको साधारण मार्ग खोली आधार तयार गरेर नुवाकोट–रसुवा–वेत्रावतीमा पुल जडान तीव्र गतिमा गरिरहेको छ । स्याफ्रुबेँसीमा पनि जडानको तयारी भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो । प्रभावित क्षेत्रका लागि हालसम्म चीन र भारतबाट पुल प्राप्त भएका छन् । सरकारले अमेरिकासँग १० पुल मागेको छ भने संयुक्त अरब इमिरेट्स सरकारले पाँचवटा दिने वाचा गरेको छ । अहिले निर्माण हुँदै गरेका पुल नेपाली सेनाका जगेडा तीनमध्येका हुन् । भारतले दिएको तीनमध्ये एउटा पुल इलामका लागि छुट्याएको जानकारी आएको छ । अहिले स्याफ्रुबेँसीदेखि माथिल्लो क्षेत्रमा सडक पूर्ण रूपमा बन्द छ । त्यहाँदेखि रसुवागढीसम्मको सडक पनि बाढीले पूरै बगाएको छ । सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा साधारण मार्ग खोल्ने काम अघि बढाइरहेका छन् । स्थायी पुल निर्माण नहुँदासम्म भने बाढी प्रभावित क्षेत्रका बासिन्दा सहज आवतजावतका लागि अझै वैकल्पिक बाटो र अस्थायी संरचनामै निर्भर हुनुपर्ने अवस्था छ ।
रसुवा र नुवाकोटको सिमानामा पर्ने वेत्रावतीस्थित फलाँखु खोलामा निर्माणाधीन बेलिब्रिज दसैँअघि नै सञ्चालनमा आउने गरी जडानको कामलाई तीव्रता दिइएको छ । भोटेकोशी बाढीले फलाँखुका पुराना र नयाँ दुवै पक्की पुल बगाएपछि काठमाडौँ–नुवाकोट हुँदै रसुवासँगको सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौँका प्रमुख इन्जिनियर सौजन्य नेपालले बाढीले बगाएको फलाँखु खोलामा निर्माणाधीन पुल दसैँअघि नै सञ्चालनमा आउने जानकारी दिनुभयो । उहाँका अनुसार पुल नहुँदा रसुवाका उत्तरी र दक्षिणी क्षेत्रको आवतजावत, दैनिक उपभोग्य वस्तुको ढुवानी तथा अत्यावश्यक सेवा प्रभावित भएकाले दसैँअघि नै पुल सञ्चालनमा आउँदा चाडपर्वका समयमा सर्वसाधारणलाई आवतजावत गर्न र काठमाडौँसँगको सडक सम्पर्क पुनः कायम गर्न ठुलो राहत मिल्नेछ ।
लाङ्टाङ लिरुङ हिमपहिरोपछिको भोटेकोशी÷ल्हेन्दे÷त्रिशूली बाढीपछि नेपाल निर्माण व्यवसायी महासङ्घको आर्थिक सहयोगमा बाढी प्रभावित क्षेत्र विदुर–१ स्थित बुद्ध मन्दिर, बान्द्रेदेखि इन्टेक डिल, त्रिशूली बजारको सिरान जोड्ने झोलुङ्गे पुल निर्माण यसै महिना सक्ने गरी अहोरात्र काम भइरहेको छ । विदुर नगरपालिका कार्यालयको विशेष सहयोग र नुवाकोट निर्माण व्यवसायी सङ्घका समन्वयमा पुल निर्माण भइरहेको हो । सस्पेन्सन ब्रिज डिभिजन पुल्चोक, ललितपुर र पूर्वाधार विकास कार्यालय विदुर, नुवाकोटका प्राविधिक सहयोगमा निर्माणाधीन दुई सय ६७ मिटर लम्बाइको झोलुङ्गे पुल नेपालीको महान् चाड बडादसैँअगाडि निर्माण भइसक्ने जानकारी प्रजिअ शम्भुप्रसाद रेग्मीले दिनुभयो । उहाँका अनुसार गल्छीदेखि वेत्रावतीसम्म थप पाँच झोलुङ्गे पुल निर्माणका लागि सम्भाव्य स्थानको प्राविधिकले सर्भे गरिरहेका छन् । हिमसुनामीले त्रिशूली क्षेत्रका आधा दर्जन पुल बगाएपछि स्थानीय बासिन्दालाई वारपार गर्न समस्या भइरहेको छ ।
चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको भीषण बाढीका कारण जिल्लाका देवीघाट, त्रिशूली र ढुङ्गे बजार, शुभघाट, भैँसे, तुप्चे, वेत्रावती क्षेत्रमा अकल्पनीय मानवीय एवम् भौतिक क्षति भएको छ । पुल निर्माणपछि नुवाकोटसहित छिमेकी जिल्लाका एक लाखभन्दा बढी मानिस लाभान्वित हुने नुवाकोट निर्माण व्यवसायी सङ्घका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलले जानकारी दिनुभयो । यसबाट नुवाकोट जिल्ला अस्पतालसहित किस्पाङ र म्यागङ गाउँपालिका तथा विदुर–३, १२, १३, ७, ८ र ९ का भूभागसँग विच्छेद भएको सम्पर्क पुनस्र्थापना भई हजारौँ लाभान्वित हुने विदुर नगरपालिकाका पूर्व नगरप्रमुख सञ्जु पण्डितले बताउनुभयो । उहाँका अनुसार देवीघाट, गौरीबेँसी, चारघरे र इन्द्रेणीघाटमा सुरक्षित तुइन जडान भएपछि आवतजावतमा केही सहजसमेत भएको छ ।





प्रतिक्रिया