+
Search

ताजा अपडेट +

पपुलर +

मानवीय तथा भौतिक क्षतिको एकीकृत प्रतिवेदन सार्वजनिक

बागमतीले माग्यो सङ्घ सरकारसँग रु.एक अर्ब अनुदान

मानवीय तथा भौतिक क्षतिको एकीकृत प्रतिवेदन सार्वजनिक
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

हेटौँडा । गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको विध्वंसकारी हिमबाढीबाट मानवीय तथा भौतिक क्षतिको एकीकृत प्रतिवेदन बागमती प्रदेशले सार्वजनिक गरेको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा सहकारी मन्त्रालयले १५ वटा विषयगत क्षेत्रबाट प्राप्त विवरणलाई एकीकृत गरी तयार गरेको प्रतिवेदन मुख्यमन्त्री किरण थापामगरलाई गत हप्ता बुझाएको थियो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका प्रदेश सचिव महेश भट्टराईले बाढीबाट सडक, पुल, सरकारी भवन, विद्यालय, निजी आवास, कृषि तथा उद्योग क्षेत्रमा पुगेको क्षतिको एकीकृत प्रतिवेदन मुख्यमन्त्री थापामगरले बुझ्नुभएको हो । प्रतिवेदनअनुसार सडक, पुल तथा सरकारी भवनमा रू.पाँच सय ६९ करोड सात लाख, विद्यालयमा रु. चार सय ९८ करोड ६२ लाख तथा उद्योग र व्यापारिक प्रतिष्ठानमा रू.दुई सय ९७ करोड १२ लाख, खानेपानी तथा सिँचाइमा रू.५२ करोड ६९ लाख, बाली, पशुधन र फार्ममा रू. २८ करोड ५९ लाखबराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रतिवेदनमा भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट विशेषगरी रसुवा, नुवाकोट र धादिङमा ठुलो क्षति पुगेको तथा चितवनका केही क्षेत्रमा समेत प्रभाव परेको उल्लेख छ । बाढीबाट एक हजार चार सय ५५ जनाको मृत्यु, पाँच हजार दुई सय ८५ जना बेपत्ता र तीन सय ४४ जनाले अस्पतालबाट उपचार सेवा लिएको प्रतिवेदनमा उल्लेख छ । खोज तथा उद्धारका क्रममा १३ हजार सात सय ९५ जनाको उद्धार गरिएको र २० हजार चार सय ७७ जनशक्ति परिचालन भएको जनाइएको छ ।

Suzuki New Bike & Scooter

बाढीबाट दुई हजार तीन सय निजी आवास पूर्ण रूपमा क्षतिग्रस्त वा बगेका तथा दुई सय ६९ निजी आवासमा आंशिक क्षति पुगेको छ । करिब दुई हजार तीन सय परिवार विस्थापित भएका र एक हजार ८५ जनाले अस्थायी शिविरमा आश्रय लिएको प्रतिवेदनमा उल्लेख छ । शिक्षातर्फ १२ विद्यालय पूर्ण र १८ विद्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । बाढीका कारण नौ हजार दुई सय ४८ विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । पूर्ण क्षतिग्रस्त विद्यालयका ३५ भवन र तीन सय १७ कक्षाकोठामा क्षति पुगेको प्रतिवेदनमा जनाइएको छ । पूर्वाधारतर्फ ३४ वटा मोटरेबल पुल पूर्ण रूपमा भत्किएका छन् भने एउटा मोटरेबल पुलमा आंशिक क्षति पुगेको छ । त्यस्तै, ५१ वटा झोलुङ्गे पुल क्षतिग्रस्त भएका छन् । तीन दशमलव पाँच किलोमिटर कालोपत्रे सडकमा क्षति पुगेको, शिक्षा र स्वास्थ्यबाहेक १४ वटा सरकारी भवनमा क्षति भएको प्रतिवेदनमा उल्लेख छ । कृषि तथा पशुपन्छी क्षेत्रमा नौ सय ७३ हेक्टर कृषि भूमि प्रभावित भएको र चार सय ७१ हेक्टरमा लगाइएको बाली नष्ट भएको छ । बाढीमा सात सय दुई ठुला पशु, दुई हजार एक सय २३ साना पशु तथा एक लाख ३४ हजार कुखुरा तथा पन्छी मरेका छन् । एक सय ६२ वटा गोठ, खोर तथा फार्ममा क्षति पुगेको जनाइएको छ । उद्योग तथा व्यापार क्षेत्रमा तीन सयवटा घरेलु तथा साना उद्योग पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । ६७ वटा व्यापारिक पसल तथा प्रतिष्ठान र ३० वटा गोदाम तथा स्टोरमा क्षति पुगेको छ । यसबाट करिब एक हजार सात सय श्रमिक तथा कर्मचारीको रोजगारी प्रभावित भएको प्रारम्भिक विवरणमा उल्लेख छ । खानेपानी तथा सिँचाइमा रू. ५२ करोड ६९ लाख र बाली, पशुधन तथा फार्ममा रू.२८ करोड ५९ लाख क्षति भएको अनुमान गरिएको छ । पूर्ण मूल्याङ्कनपछि मात्रै बाढीबाट भएको समग्र क्षतिको यकिन हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बाढीपछि उद्धार, उपचार, राहत वितरण, अस्थायी आश्रय, सडक मर्मत, वैकल्पिक पहुँच तथा सञ्चार सेवा पुनः सञ्चालनका काम गरिएको छ । बाढी प्रभावित १२ स्थानीय तहलाई रू. दुई करोड ५० लाख अनुदान उपलब्ध गराउने निर्णय भएको छ । पुनर्निर्माणका लागि सङ्घ सरकारसँग रू.एक अर्ब अनुदान माग गर्ने निर्णयसमेत गरिएको प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयले प्रभावित नागरिकलाई सुरक्षित आश्रय र आधारभूत सेवाको निरन्तरता, प्रमाणित तथ्याङ्क तथा प्राविधिक परीक्षण, एकीकृत पुनर्निर्माण योजना र प्राथमिकताका आधारमा स्रोत परिचालन गर्न सुझाव दिएको छ । प्रदेश सरकारले विपत्का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति रू. एक लाख क्षतिपूर्ति दिने निर्णय यसअघि नै गरिसकेको छ । उद्धार, उपचार तथा खाद्यान्न वितरणको काम सम्पन्न भइसकेकाले अब आन्तरिक मामिला मन्त्रालयको संयोजकत्वमा प्रभावित क्षेत्रको पुनस्र्थापना र पुनर्निर्माणको काम अघि बढाउने तयारी प्रदेश सरकारले गरेको छ । मुख्यमन्त्री थापामगरले बजेटको सीमा रहेकाले अन्य मन्त्रालयका गैरप्राथमिक कार्यक्रम तथा बजेट कटौती गरी विपत् प्रभावित क्षेत्रमा आवश्यक स्रोत परिचालन गर्न निर्देशन दिनुभयो । कार्यविधि, ऐन तथा कानुनमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै उहाँले आवश्यक परे मन्त्रिपरिषद् तथा प्रदेश सभामार्फत संशोधन वा नयाँ कानुनी व्यवस्था गरी समस्या समाधान गरिने बताउनुभयो ।

 

भुतपूर्व सैनिक सम्मेलन-२०८३ सम्बन्धी सूचना

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह