+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटबाट दोस्रो आइजिपी विधिविधान उल्लङ्घन गर्ने सम्भावना रोक्न डा केसीलाई मुख्य चुनौती

नुवाकोटबाट दोस्रो आइजिपी विधिविधान उल्लङ्घन गर्ने सम्भावना रोक्न डा केसीलाई मुख्य चुनौती
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

विदुर । नेपाल सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक डा मनोजकुमार केसीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्कोे बुधबार बसेको बैठकले आइजिपी कार्कीलाई भने प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ । डा केसी हाल नेपाल प्रहरी, अपराध अनुसन्धान विभागका नेतृत्वमा हुनुहुन्थ्यो । सङ्गठित रूपमा राजनीतिक–प्रशासनिक तथा अन्य तहमा नयाँ नयाँ प्रविधिका साथ आर्थिक–वित्तीय अपराध र अपराधीहरू जन्मिरहेको र प्रहरी सङ्गठनको पनि साख गिरिरहेका बखत नियुक्त डा केसीलाई प्रहरीको मनोबल बढाउँदै सूक्ष्म अपराध अनुसन्धान गरी दोषी पत्ता लगाउने तथा मुलुकमा समग्र शान्तिसुरक्षा, अमनचन कायम गर्ने चुनौती छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

विसं २०५३ मा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द तथा उपप्रधानमन्त्री/गृहमन्त्री वामदेव गौतमले प्रहरी मर्यादाक्रम मिचेर तत्कालीन आइजिपी अच्युतकृष्ण खरेललाई विशेष सल्लाहकार र ध्रुवबहादुर प्रधानलाई आइजिपी नियुक्त गरेको घटनाक्रमसँग मिल्दो यस निर्णयसँगै सङ्गठनको ऐन र नियम अनुसरण गर्दै सक्षम र उत्तरदायी भई सरकारका कतिपय शान्तिसुरक्षासँग सम्बन्धित विधिविधानविपरीतका निर्णय र कदमप्रति असहमति जनाउन सक्ने दृढताको छवि पनि उहाँले प्रदर्शन गर्न सक्नुपर्ने छ ।

Suzuki New Bike & Scooter

विसं २०८२ असोज ५ मा सरकारले उहाँलाई प्रहरी प्रदेश समन्वय विभागबाट केन्द्रीय अनुसन्धान ब्युरोमा सरूवा गरेको थियो । सिआइबीबाट उहाँलाई अपराध अनुसन्धान विभागमा सरूवा गरिएको थियो । कार्कीको आइजिपी नियुक्तिका बेला एआइजी राजन अधिकारी, डा केसी र सिद्धिविक्रम शाह पनि महानिरीक्षकका लागि प्रतिस्पर्धामा हुनुहुन्थ्यो । कार्की, अधिकारी र डा केसी चैत २०५४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृत हुनुहुन्छ । अर्थात् कम्बोडियाबाट अपराध अनुसन्धानमा प्रहरीबाट पहिलो विद्यावारिधि उपाधिप्राप्त डा केसी कार्कीलगायत २८ सहकर्मी वा सोही ब्याचका हुनुहुन्छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहँदा डा केसीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाउनुभएको थियो । लामो समयदेखि अलपत्र रहेको शरणार्थी प्रकरणलाई अघि बढाएर डा केसीले विसं २०७९ चैत १२ तिन आरोपीलाई पक्राउ गर्नुभएको थियो । नेपाली युवालाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सदस्य केशव दुलाल, टङ्क गुरूङ र सानु भण्डारीलाई पक्राउ गरेपछि सो प्रकरणमा अनुसन्धान अघि बढेको थियो । पछि सोही विषयमा सङ्गठित अपराधको कसुरअन्तर्गत अनुसन्धान भई पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत पक्राउ परेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणताका डा केसी एसएसपी हुनुहुन्थ्यो । उहाँकै नेतृत्वको टोली नेपाली काङ्ग्रेस नेता बालकृष्ण खाँडलाई पक्राउ गर्न उहाँको निवास पुगेको थियो । त्यही कारण काङ्ग्रेस नेतृत्व उहाँसँग रूष्ट थियो भने सरकारमा सो दल रहेसम्म उहाँले महत्त्वपूर्ण पोस्टिङ पाउनुभएन । भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान सुरू भएका बेला विसं २०८० भदौ ४ मा तत्कालीन सरकारले उहाँलाई जिम्मेवारीबाट हटाएको थियो ।

भुतपूर्व सैनिक सम्मेलन-२०८३ सम्बन्धी सूचना

नेपाल प्रहरीका ३४ औँ नवनियुक्त प्रहरी महानिरीक्षक डा केसीले कम्बोडियाको पन्नासत्र विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि गर्नुभएको छ । उहाँले सोही विश्वविद्यालयबाटै व्यावहारिक द्वन्द्व रूपान्तरण अध्ययनमा एमएम तथा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गर्नुभएको छ ।

नुवाकोट जिल्ला, विदुर–७ तुप्चे निवासी पिता अशोककुमार सापकोटा केसी र आमा शान्ति केसीका ज्येष्ठ सुपुत्र डा केसीले विदुर–९ बाघबगैँचा, खिन्चेत, कलोनीस्थित त्रिशूली अस्पतालमा जन्म भई विदुर-८ भैरूम माविमा कक्षा ४ सम्म र विदुर–७ चण्डेश्वरी माविमा कक्षा ५ र ६ अध्ययन गरी कक्षा ७ देखि सिद्धार्थ वनस्थली, काठमाडौँमा उच्च शिक्षा अध्ययन गर्नुभएको थियो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र तथा मानवशास्त्र र सार्वजनिक प्रशासनमा समेत स्नातकोत्तर गर्नुभएको छ । अन्तर्राष्ट्रिय शान्ति स्थापनाका क्षेत्रमा पनि उहाँले काम गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनअन्तर्गत कोसोभो र हैटीमा सुरक्षा अधिकृतका रूपमा खटिएका उहाँले द्वन्द्वपछिको अवस्थामा स्थानीय प्रहरीको क्षमता अभिवृद्धिमा योगदान पुर्याउनुभएको थियो । उहाँले प्रहरी सेवामा पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले ‘सुप्रबल जनसेवाश्री’ र ‘प्रबल गोरखा दक्षिण बाहु’ लगायतका विभूषण प्रदान गरेको छ । उहाँ उत्कृष्ट अनुसन्धानकर्ता र उत्कृष्ट जिल्ला प्रहरी प्रमुखका रूपमा समेत सम्मानित हुनुभएको छ ।

नुवाकोटबाट आइजिपी हुने डा केसी दोस्रो हुनुहुन्छ । यसअघि विसं २०३९ असारदेखि २०४३ जेठसम्म गेर्खुका डिलबहादुर (डिबी) लामा आइजिपी हुनुभएको थियो जो विसं २०१५ का प्रतिनिधिसभा सदस्य ललितमान घलेका छोरा हुनुहुन्थ्यो । प्रहरी सेवामा छँदा लामाले आफ्नै पितालाई समेत पक्राउ गरी नाम कमाउन सकेका थिए । नुवाकोटबाट नेपाल प्रहरीको लामा र सशस्त्र प्रहरी वल नेपालको पुष्पराम केसी यसअघि आईजीपी भइसक्नुभएको छ । उहाँसहित नुवाकोटका तीन जना आईजीपी हुनुभएको छ । नुवाकोट शिवपुरीका केसी सशस्त्र प्रहरी वल नेपालका ११औँ प्रहरी महानिरीक्षक (आईजीपी) भइसक्नुभएको छ । उहाँले विसं २०७८ चैत ३० (१३ अप्रिल २०२२) मा सशस्त्रको आईजीपी हुनुभएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह