+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली, देवीघाटसहित पाँच जलविद्युत् केन्द्रको उत्खनन र पुनर्निर्माणमा जुट्यो नेविप्रा

त्रिशूली, देवीघाटसहित पाँच जलविद्युत् केन्द्रको उत्खनन र पुनर्निर्माणमा जुट्यो नेविप्रा
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

विदुर । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विध्वंसकारी हिमबाढीले क्षतिग्रस्त रसुवा, नुवाकोटका विद्युत् आयोजना ब्युँताउन नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया थालेको छ । प्राधिकरणले बाढीको कारण आयोजनामा भएको प्राविधिक तथा आर्थिक क्षतिको आकलन गर्न आयोजनाको सुरुङ तथा विद्युत्गृहभित्र रहेको लेदो तथा अन्य नदीजन्य पदार्थ हटाउने र सरसफाइ गरी उपकरण तथा संरचनाको अवस्था यकिन गर्ने भएको छ । उत्खनन र पुनर्निर्माणका लागि प्राधिकरणका आफ्ना तथा सहायक कम्पनीका आयोजनाको सुरुङ, विद्युत्गृह क्यानलजस्ता संरचनामा थुप्रिएको लेदोसहित ढुङ्गा, बालुवा पन्छाउन दसैँअगाडि ठेक्का प्रक्रिया अगाडि बढाएको थियो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

बाढीका कारण प्राधिकरणको स्वामित्वका सञ्चालनमा रहेका नुवाकोटको विदुर–१ को त्रिशूली जलविद्युत् केन्द्र (२४ मेगावाट), विदुर–६ को देवीघाट जलविद्युत् केन्द्र (१४ दशमलव एक मेगावाट), विदुर–१२ मा रहेको सौर्य विद्युत् आयोजना (२५ मेगावाट), रसुवाको माथिल्लो त्रिशूली थ्री ‘ए’ (६० मेगावाट), कम्पनीमातहत रसुवाका चिलिमे जलविद्युत् आयोजना (२२ मेगावाट) र रसुवागढी जलविद्युत् आयोजना (१११ मेगावाट) क्षतिग्रस्त भएका थिए । यी आयोजनाको विद्युत्गृह तथा सुरुङ के–कति क्षति भएका छन्, कति सामान सुरक्षित छन् यकिन गर्न दसैँअघि नै ठेक्का आह्वान भएको थियो । यी आयोजनामा भएको वास्तविक क्षति नै अहिलेसम्म यकिन हुन सकेको छैन । विद्युत्गृह, सुरुङ, बाँधजस्ता संरचनामा पुगेको क्षति यकिन गर्न त्यहाँको लेदो हटाएपछि मात्र अध्ययन गर्न सकिने भएकाले लेदो हटाएर सफा गर्न सम्बन्धित आयोजनाले नै ठेक्का आह्वान गरेका हुन् । अहिले प्राप्त प्रस्तावको मूल्याङ्कन भइरहेको छ । तिहारलगत्तै काम सुरु गराउने गरी यो ठेक्का प्रदान गर्ने योजना प्राधिकरणको छ । प्राधिकरण उत्पादन विभाग प्रमुख तथा उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठका अनुसार रसुवागढी आयोजनाबाहेक अरू सबै आयोजनाको अब सरसफाइ तिहारलगत्तै सुरु गर्न लागिएको छ । रसुवागढी पुग्न सडक पहुँच नै नभएकाले त्यसको सफाइ गर्ने काम भने अगाडि बढाइएको छैन । ‘क्षतिग्रस्त आयोजना पुनर्निर्माण गर्नुपर्छ, त्यसका लागि क्षतिको वास्तविक यकिन गर्न सरसफाइ गर्न लागिएको हो,’ उहाँले भन्नुभयो, ‘पुरिएका संरचना खोतलेर त्यहाँका उपकरण तथा संरचनाको अवस्था यकिन गर्न परामर्शदातामार्फत अध्ययन गराउने योजना प्राधिकरणको छ ।’

Suzuki New Bike & Scooter

श्रेष्ठका अनुसार तिहारलगत्तै काम सुरु गरी विनाअवरोध काम हुन सके करिब चार महिनामा सुरुङ तथा विद्युत्गृहबाट फोहोर हटाउने काम सम्पन्न हुनेछ । ‘त्यसपछि परमर्शदाताले भौतिक संरचना, मेकानिक तथा इलेक्ट्रिकल उपकरणमा भएको क्षति र पुनर्निर्माणको लागत आकलन गर्नेछन्,’ उहाँले भन्नुभयो, ‘यो मूल्याङ्कन तथा पुनर्निर्माणका लागि आर्थिक स्रोत जुटाउन सरकार, प्राधिकरण, दातृ निकाय तथा अन्य सरोकारवालाले अब पहल थाल्नुपर्छ ।’ अहिले खोतल्ने काम गर्न लागिएको पनि आयोजनाको क्षतिको अध्ययन तथा पुनर्निर्माणका लागि भने आर्थिक स्रोत सुनिश्चित भइनसकेको श्रेष्ठले बताउनुभयो । सरकारले क्षतिग्रस्त सडक मर्मत तथा पुल पुनस्र्थापना गर्ने कार्य गरिरहेको र सोही पूर्वाधार प्रयोग गरी एक्स्काभेटर तथा सफाइका अन्य उपकरण प्रभावित विद्युत्गृहमा पु¥याउने तयारी प्राधिकरणले गरिरहेको छ । बाढीपछि केन्द्रको भौतिक तथा पूर्वाधार सम्पत्तिको सुरक्षा र निगरानी प्राधिकरणको निर्देशनअनुसार गरिरहेको त्रिशूली जलविद्युत् केन्द्रका प्रमुख हरि धिताल र देवीघाट जलविद्युत् केन्द्रका प्रमुख प्रदीप सिंहले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई बताउनुभयो ।

भुतपूर्व सैनिक सम्मेलन-२०८३ सम्बन्धी सूचना

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह