धुन्चे । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको हिमबाढीबाट प्रभावित नागरिकका लागि रसुवा जिल्ला, गोसाईँकुण्ड-५, स्याफ्रुबेँसी बजारमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । बाढीपछि यस क्षेत्रमा पहिलोपटक यस्तो बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको हो ।


गोसाईँकुण्ड गाउँपालिका, भिजिट डेभलपमेन्ट रिसर्च सेन्टर, अमेरिका एयर्स र नेपाल पर्वतारोहण सङ्घको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो । शिविरबाट बाढी प्रभावित क्षेत्रका ठुलोस्याफ्रु, भार्खु र स्याफ्रुबेँसी गाउँका तीन सय ५० जनाभन्दा बढी स्थानीय नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त बनेको स्याफ्रुबेँसी बजार र आसपासका क्षेत्रमा विपत्पश्चात् फैलिन सक्ने सम्भावित स्वास्थ्य जोखिम र महामारीलाई न्यूनीकरण गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको गोसाईँकुण्डका स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेले जानकारी दिनुभयो । ‘विपत्को समयमा प्रभावित नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गराउन शिविर प्रभावकारी रह्यो,’ स्वास्थ्य शाखा प्रमुख घिमिरेले भन्नुभयो ।

शिविरमा आएका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श गरिनुका साथै उहाँहरूलाई आवश्यक पर्ने औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । विपत्को यस्तो कठिन परिस्थितिमा पनि प्रभावित नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिई सहयोग गर्ने सम्पूर्ण सङ्घ, संस्था, स्थानीय जनप्रतिनिधि, चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आयोजक एवम् स्थानीय बासिन्दाले हार्दिक आभार व्यक्त गरेका छन् ।







प्रतिक्रिया